Header Ads

जग्गा हडप्ने काममा माओवादी नेतादेखि पत्रकारसम्मको संलग्नता


वैशाख १२, २०७४- झापा शनिश्चरेका जीवन विष्टका नाममा रहेको १५ करोड रुपैयाँ मूल्यको जग्गा किर्ते गरी हडप्ने काममा माओवादी नेतादेखि पत्रकारसम्मको संलग्नता पुष्टि भएको छ । घटनामा संलग्नहरूलाई सार्वजनिक गर्न सोमबार भद्रपुरमा आयोजित पत्रकार सम्मेलनमा एसपी थापाले भने, ‘घटनामा समाजका प्रतिष्ठित व्यक्तिहरूको संलग्नता देखिन्छ ।’ 
जग्गा किर्ते काण्डका मुख्य सूत्रधार चाहिँ टेलिभिजन पत्रकार पुजन घिमिरे रहेको प्रहरीको दाबी छ । घिमिरेकै योजनामा विष्टको नामको अनारमनी ४ मा रहेको कित्ता नम्बर १६९ र १७० को करिब ५ कट्ठा १६ धुर जग्गा किर्ते गरी हडप्न खोजिएको पाइएको झापाका एसपी शैलेश थापाले बताए । घटनामा संलग्नमध्ये जिल्ला प्रशासनका खरदार तेजेन्द्र न्यौपाने र कांग्रेसका कार्यकर्ता भूपू कान्छा भनिने अजय राईलाई गत चैत २७ गते, भद्रपुरका व्यापारी प्रेम न्यौपानेलाई २८ गते र बाहुनडाँगीका राजु कुँवरलाई चैत ३० गते प्रहरीले पक्राउ गरेको थियो । 
पत्रकार घिमिरेसहित उनका सहयोगी पत्रकार अर्जुनधारा १ बस्ने शम्भु दाहाल, माओवादी केन्द्रका केन्द्रीय सदस्य अग्नि भनिने राजु आचार्य, माओवादी कार्यकर्ता लक्ष्मण बस्नेत र विर्तामोडका ओम शिवाकोटी फरार रहेको एसपी थापाले जनाए ।अभियुक्तहरूलाई सोमबार थप अनुसन्धानका लागि तेस्रोपटक १० दिनको म्याद थप गरिएको छ । जग्गाधनी विष्टले गत माघ १२ गते विर्तामोडको एभरेस्ट होटलबाट अपहरण गरी गरामनीको शुभकामना होटलमा बन्धक बनाएर डरधम्की देखाएर करोडौं मूल्यको जग्गा हडपेको भनी इलाका प्रहरी कार्यालयमा गत चैत २५ गते किटानी जाहेरी दिएका थिए । विष्टका नामको जमिनमा पत्रकार घिमिरे र विर्तामोडका ओम शिवाकोटीले गत असार १९ गते ५ वर्षका लागि व्यवसाय गर्न जग्गा भाडामा लिएको देखिन्छ । प्रहरीका अनुसार होटल सुरु गरेको करिब ५ महिनापछि जग्गाधनीलाई उनीहरूले १० वर्षे सम्झौताका लागि आग्रह गरेका थिए । सोहीअनुसार गत पुस २५ गते जग्गाधनी १० वर्षे सम्झौताका लागि मञ्जुर भएका थिए । गत माघ १२ गते जग्गाको १० वर्षे भाडा सम्झौताका लागि आएका विष्टलाई तेजेन्द्र न्यौपानेसहितले जबरजस्ती भारतीय नम्बरको गाडीमा राखी बन्धक बनाएका थिए । 
माघ २० गते मालपोत कार्यालयबाट खटी आएका डोर समक्ष बाहुनडाँगीका राजु कुँवरले जग्गाधनी आफू भएको र उक्त जग्गा भद्रपुरका प्रेम न्यौपानेले खरिद गरेकाले निजका नाममा दर्ता कायम गर्न भनेपछि सोहीबमोजिम जग्गा नामसारी भएको प्रहरीले जनाएको छ । राजु कुँवरको फोटो टाँस गरी जग्गाधनी जीवन विष्टका नाममा किर्ते नागरिकता निकालिएको छ । 

मालपोत कार्यालयका नायब सुब्बा टीकाराम लुइँटेल, खरदार रुद्र सापकोटा र लेखनदास मुक्ति निरौलाको समेत संलग्नता हुन सक्ने भन्दै प्रहरीले निगरानी गरिरहेको छ । 

No comments