Header Ads

राहत वितरण सुरु

दाङ, ३२ साउन । दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका१३, लमही नगरपालिका८ र ९ तथा दंङ्गीशरण गाउँपालिकाका विभिन्न वडामा रहेका बाढीपीडितलाई मंगलबार राहत वितरण गरिएको छ । दाङका बाढीपीडितलाई विभिन्न समूहमा टोली खटाई राहत वितरण गरिएको हो । तुलसीपुर उपमहानगरपालिका ३८ परिवार, दंङ्गीशरण गाउँपालिका ३८ परिवार र लमही नगरपालिका८ र ९ का २५ परिवारलाई राहत वितरण गरिएको हो ।
उक्त राहत वितरणका क्रममा बाढीपीडितले तत्काल गाँसबासको व्यवस्थापन गर्न माग गरेका छन् । उनीहरुले आफन्त र छिमेकीको घरमा शरण लिनुपरेको भन्दै राज्यले तत्काल पुनःस्थापनामा ध्यान दिनसमेत आग्रह गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठको नेतृत्वमा गएको टोलीले राहत वितरण गरेको हो । जिल्ला दैविक उद्धार समिति, तुलसीपुर उपमहानगरपालिकासहित विभिन्न संघ संस्थाको सहयोगमा संकलन भएको राहतस्वरुप चामल, दाल, चिउरा, नुन, तेल र त्रिपाललगायतका सामग्री प्रदान गरिएको हो ।
उद्धारलगत्तै अहिले तत्कालका लागि स्थानीयस्तरमा संकलन गरिएको राहत एकद्वार प्रणालीमार्फत वितरण गरिएको हो प्रजिअ श्रेष्ठले भन्नुभयो ।
बाढीका कारण विस्थापित परिवारमध्ये सरकारी विद्यालय, सामुदायिक वन समूहका भवनमा, केही ठाउँमा त्रिपालमा र कोही आफन्त कहाँ बसोबास गरेका छन् । दाङमा बाढीका कारण चार जनाको मृत्यु, २ जना घाइते, बाढीबाट १५३ घरघुरी विस्थापित भएका छन् ।
त्यसैगरी बढीबाट ११२ घर पूर्णरुपमा क्षति भएका छन् भने ३८ वटा घर आंशिक क्षति हुनुका साथै ४३१ घरबाढीबाट प्रभावित भएका छन् ।
यसैबीच आज बाढीपीडितका लागि उनीहरु बसोबास गरेकै स्थानमा स्वास्थ्य शिविर राखिने भएको छ । रासस


No comments