Header Ads

सरकारले बाढीपीडितलाई प्रतिदिन ७० रुपैयाँ खाना खर्च दिने


भाद्र २, २०७४- सरकारले तराईका बाढीपीडितलाई प्रतिदिन ७० रुपैयाँका दरले एक महिनासम्म खाना खर्च उपलब्ध गराउने भएको छ ।
गृहमन्त्री जनार्दन शर्माले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै प्रमुख जिल्ला अधिकारी (सीडीयो)मार्फत् बाढीपीडितलाई प्रतिदिन ७० रुपैयाँको दरमा खाना खर्च दिलाइने जानकारी गराएका हुन् । उनले अब सीडीयोले छिट्टै राहत रकम बाँड्ने बताए । रकम कति पीडितलाई वितरण गर्ने भन्ने प्रस्ट पारिएको छैन ।
त्यस्तै गृहमन्त्री शर्माले बाढी र डुबानबाट क्षति भएका सार्वजनिक, निजी भौतिक संरचनाको पुनर्निर्माण तत्काल थालिने पनि जनाए । पीडितलाई राहत दिन रकम अभाव रहेको बताउँदै उनले सहायताका लागि अन्तर्राष्ट्रिय समुदायसँग आह्वान समेत गरे । सरकारले विदेशी सहायता ग्रहण गर्ने भए पनि कुनै पनि व्यक्ति वा संस्थाले बैंक खाता खोलेर राहत रकम उठाउन भने बन्देज लगाइएको छ । मन्त्री शर्माले सरकारसँग अनुमति लिएर मात्रै राहत संकलन गर्न पाइने प्रस्ट पारे । 
बाढी प्रभावित क्षेत्रमा खाद्यान्न अभाव रहेकोले त्यहाँ खाद्य संस्थानमार्फत् अस्थायी डिपो खुलाउने मन्त्री शर्माले जानकारी दिए । 


एक हप्ताअघिको अविरल वर्षापछि निम्त्याएको बाढी र पहिरोले झन्डै ३० जिल्लामा प्रभावित पार्‍यो भने सयभन्दा बढी नागरिकले ज्यान गुमाए । 

No comments