Header Ads

भोलिदेखि चक्रपथमा ट्रक, मिनी ट्रक र ट्रिपर गुडे पाँच हजार जरिवाना

काठमाडौं,साउन ३२ – सवारीजामलाई व्यवस्थापन गर्न सरकारले विहिवारदेखि काठमाडौंको चक्रपथमा ट्रक, ट्रिपर र मिनिट्रक चल्न रोक लगाएको छ । भदौ १ गतेबाट लागु हुने गरी विहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म चक्रपथमा मालबाहक सवारी चल्न रोक लगाउने तयारी भएको हो। पेट्रोल, ग्यास, पानी लगायत अत्यावश्यक सेवाका सवारीका हकमा भने यो निर्णय लागू हुने छैन ।
चक्रपथमै सवारी जामको उच्च समस्या भएकाले कलंकी, नारायणगोपाल चोक, गौशाला, चाबहिल, कोटेश्वर, ग्वार्को, सातदोबाटोलगायत क्षेत्रमा लामो समय जाम हुँदा यात्रुले दुःख खेप्नुपरेको र समय वर्वाद भएकाले दिनचर्यामै प्रभाव परेको उक्त निर्णय लिईएको बताईएको छ ।
यसका लागि उपत्यकामा भित्रिने मालबाहक सवारीका लागि विभिन्न नाकामा पार्किङस्थल समेत तोकिने भएको छ। अब तोकिएको अवधिभन्दा अघि वा पछि आउने सवारीले सो पार्किङ काटेर काठमाडौंतर्फ आउन पाउने छैनन् । यो नियमलाई कसैले उलंघन गर्न खोजेमा सवारी तथा यातायात व्यवस्था ऐन अनुसार ५ हजार जरिवाना हुने भएको छ।
चक्रपथमा करिब ११ लाख सवारीसाधन गुड्दै आएको र यसमा करिव ३० प्रतिशत ट्रक र टिप्पर रहेको विभागको भनाइ छ । विभागको तथ्यांकअनुसार बाग्मती अञ्चलमा मात्र हालसम्म १९ हजार चार सय ४० ट्रक दर्ता भएका छन् भने दुई हजार नौ सय आठ ट्र्याक्टर र पावरटिलर दर्ता भएका छन् ।
कहाँ तोकियो पार्किङ स्थल ?
उपत्यकामा भित्रिने मालबाहक सवारीका लागि विभिन्न नाकामा पार्किङस्थलसमेत तोकिएको छ । पृथ्वीराजमार्ग हुँदै आउने मालबाहक सवारीलाई नौबिसेमा पार्किङ गराइनेछ । गोदावरीतर्फबाट आउने ट्रक/टिप्परले धापाखेलमा पार्किङ गर्न पाउने छन् भने अरनिको तथा वीपी राजमार्गबाट आउने सवारी साधनलाई बनेपामा नै रोकिनेछ । नुवाकोट तर्फबाट आउने मालबाहक सवारीलाई झोर र मुडेमा रोकिनेछ ।

No comments